धनगढी । भारतबाट नेपाल फर्कनेहरूमध्ये केहीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्य नाका फेरि सतर्क बनेका छन्। गड्डाचौकी, गौरीफण्टा, झुलाघाट र पुलघाट नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरी परीक्षण सुरु गरिएको छ।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार सीमामा पुग्ने शंकास्पद बिरामीको एन्टिजेन परीक्षण गरिँदैछ। हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ।
चार नाकामा परीक्षण, तर किट सीमित
गौरिफण्टा नाकाबाट जेठ २१ गते परीक्षण सुरु गरिएको थियो भने बाँकी तीन नाकामा जेठ २७ गतेदेखि परीक्षण थालिएको हो। तर, परीक्षण किटको अभाव देखिएको छ।
गौरिफण्टा: १५० किट
गड्डाचौकी: १०० किट
झुलाघाट: ५५ किट
पुलघाट: २५ किट
जोशी भन्छन्, “यात्रुको संख्या दिनहुँ बढ्दैछ। प्राथमिकताको आधारमा परीक्षण गरिरहेका छौं।”
स्वास्थ्यकर्मीको अनुभव
गड्डाचौकीमा कार्यरत स्वास्थ्यकर्मी विशाल भट्टका अनुसार परीक्षण पुनः सुरु भएयता सबै नतिजा नेगेटिभ आएका छन्। “किट थोरै छ, तर परीक्षण चलिरहेको छ,” उनले भने।
हाल चारै नाकामा सातजना स्वास्थ्यकर्मी खटिएका छन्। भारतमा संक्रमण दर बढ्न थालेपछि सीमा नाकामा पुनः स्वास्थ्य परीक्षण कडाइ गरिएको हो।











