जेठ २३, डोटी ।
डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका जिल्लाको तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको गाउँपालिका बनेको छ। सेवा क्षेत्रभित्रका ५९ महिना मुनीका सम्पूर्ण बालबालिकालाई सबै प्रकारका नियमित खोप उपलब्ध गराएपछि यस पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो।
जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले खोप सुनिश्चितता तथा दिगोपना भएको प्रमाणपत्र बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलालाई हस्तान्तरण गर्दै पालिकालाई औपचारिक रूपमा घोषणा गरेका हुन्।
प्रमुख सिंहले खोप कार्यक्रमलाई राज्यको प्रमुख प्राथमिकताका रूपमा लिइएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूको समर्पण र योगदानको प्रशंसा गरे। उनले भने, “जसरी सरकारले यस कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ, त्यसलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूले खेलेको भूमिकाप्रति म आभार व्यक्त गर्दछु।”
पालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई सधैं प्राथमिकतामा राख्दै योजना तथा कार्यक्रम बनाउँदै आएको जानकारी दिए।
घोषणा कार्यक्रमको अवसरमा खोप अभियानलाई सफल बनाउन योगदान दिने सातवटा स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कार्यालय सहयोगीहरूलाई सम्मान गरिएको थियो।
स्थानीय तहबाट सक्रियताका साथ सञ्चालित खोप कार्यक्रमले पालिकाभित्र बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिएको जनाइएको छ।











