कैलाली — लामो समयदेखि फरार रहेका तीन अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। वन अपराध र चेक अनादर जस्ता मुद्दामा दोषी ठहर भई जरिवाना तोकिएका ती तीन जना बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयको संयुक्त टोलीद्वारा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका-९ का २३ वर्षीय मुक्तीराम चौधरी छन्, जसलाई वन अपराधमा ३३ हजार २६० रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यस्तै, चेक अनादर मुद्दामा दोषी ठहर भई १ हजार रुपैयाँ जरिवाना तोकिएका टीकापुर नगरपालिका-१, ब्लक ‘बि’ का ४१ वर्षीय दिलिपबहादुर रावल र टीकापुर-६ का ३५ वर्षीय महेश विश्वकर्मा पनि पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको विभिन्न मितिमा भएका फैसलाका आधारमा फरार रहेका उनीहरूलाई अन्ततः प्रहरीले पक्रन सफल भएको हो।











