अछाम, जेठ ५ – तीन दशकभन्दा लामो प्रतीक्षापछि अछामको कमलबजार विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु भएको छ। निर्माण कार्य प्रारम्भ भएको ३२ वर्षपछि, गत वैशाख ७ गतेदेखि उडान सुरु गरिएको हो।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालका अनुसार, आइतबार काठमाडौँ–कमलबजार बीच चौथोपटक व्यावसायिक उडान सम्पन्न भयो। उक्त उडानमा काठमाडौंबाट १५ यात्रु र कमलबजारबाट १४ यात्रुले यात्रा गरेका थिए।
“गत हप्ता मौसमका कारण उडान हुन सकेन, तर अन्य साता नियमित उडान भइरहेको छ,” नगरप्रमुख ढकालले जानकारी दिनुभयो। हालका लागि हप्तामा एक दिन, आइतबार मात्रै उडान हुने व्यवस्था गरिएको छ।
यससँगै, निकट भविष्यमा कमलबजारमै नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय स्थापना गर्ने तयारी समेत गरिएको छ। हाल कर्मचारीहरू साँफेबगरबाट खटाइँदै आएका छन्, तर अब स्थायी रुपमा दुई जना कर्मचारी राख्ने गरी पहल भइरहेको ढकालले बताउनुभयो।
प्राधिकरणको आफ्नै भवनसमेत कमलबजारमै उपलब्ध रहेको छ। पहिले प्रहरीको कार्यालयका रूपमा प्रयोग भएको दुई भवनलाई मर्मत गरी उड्डयन कार्यालयको रूपमा प्रयोग गरिने योजना रहेको नगरप्रमुख ढकालले जानकारी दिनुभयो।
स्थानीयवासीहरूका लागि व्यावसायिक उडान सुरु हुनु निकै राहतदायी खबर बनेको छ। यसले यातायातमा सहजता ल्याउनुका साथै अछामको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।











